• Saturday 25th of July 2026

सप्तरीमा नौ हजार मतदाता थपिए


  • गोकर्णेश्वर अनलाइन

सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

गत बैशाख३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वाचन आयोग पठाउने जिल्ला निर्वाचन अधिकारी जोशीले बताउनुभयो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ ।

आयोगले जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय कञ्चनरूप र बोदे बर्साइनबाट मतदाता नामावली सङ्कलन गरेको थियो । स्थानीय तह निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार आठ सय ९२ पुरुष, एक लाख ९८ हजार पाँच सय ३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।

सरकारले मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै यही साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनकार्य स्थगन भएको छ । मतदाता नामावली ऐन २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन (साउन १९ गते)सम्म सङ्कलित र मतदान हुने मिति (मङ्सिर ४ गते)भन्दा अघिल्लो दिन १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रकिया प्रारम्भ भएको आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली दाबी विरोधसहितको अद्यावधिक कार्य सम्बन्धित निर्वाचन कार्यालयमा नै सञ्चालन हुने आयोगले जनाएको छ । सो अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, झुठा विवरणको विरोधमा उजुरी दिन, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नाम हटाउन, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भए पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

मतदाता नामावली अद्यावधिककार्य सम्पन्न भएपश्चात प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नमावली प्रकाशन हुने आयोगका सहसचिव तथा प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology