• Saturday 25th of July 2026

कैदीबन्दी व्यवस्थापनमा चुनौती


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागुऔषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदीबन्दीले पालो मिलाउँदै आएका जनाइएको छ ।

सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्थासमेत रहेको छ । “थोरै पानी पर्दा समस्या छैन”, कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भन्नुभयो, ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ”, कैदीबन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उहाँले बताउनुभयो ।

“कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ”, उहाँले भन्नुभयो, “सबै भवन पुराना छन् । बर्सातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।” उहाँका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेरसमेत कैदीबन्दीलाई राखिएको छ ।

“केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं”, उहाँले भन्नुभयो, “कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ”, कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।

वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताउनुभयो, “कोरोनाको सङ्क्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको सङ्क्रमण देखा परेको छैन”, उहाँले भन्नुभयो, “केही कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएकाले उपचार भइरहेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology