• Saturday 25th of July 2026

पाकिस्तान बाढी एक हजार एक सय छत्तीस जनाको ज्यान गयो


  • गोकर्णेश्वर अनलाइन

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने एक हजार छ सय ३४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको छ ।

बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ५१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तछथा चार लाख ९८ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपत्काल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology