• Saturday 25th of July 2026

टेकुको फोहर व्यवस्थापन दुई दिनमा


  • गोकर्णेश्वर अनलाइन

विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडाँै उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो ।

उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहरको डङ्गुर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो । सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ ।

काठमाडौँ महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भन्नुभयो,“आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम हुन्छ ।” गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुन सकेको थिएन । स्थानीयवासीको अवरोधकैबीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ ।

यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । फोहर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।

हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामानै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । सम्भावित केही स्थान पहिचान गरेपनि स्थानीय त्यस विषयमा सकाररात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology