• Saturday 25th of July 2026

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।

“सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यकमात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने नगरपालिकाले तार काटिदिन्छ ।” प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवाप्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको नगरप्रमुख खाणले बताउनुभयो ।

“सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरुप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ”, उहाँले भन्नुभयो, “प्रयोगमा नरहेका तार हटाउन सकेमा मात्रै पनि तार कमी हुनाका साथै त्यसलाई एउटै मुठो बनाएर पनि व्यवस्थित गर्न सकिन्छ ।” नगरपालिकाको निर्देशनसँगै पुराना अनि तामाका तारबाट वितरण गरिएका लाइन हटाउने तयारी थालिएको वालिङ इन्टरनेट प्रालिका सञ्चालक जोगराज पाठकले बताउनुभयो ।

“नयाँ प्रविधिको फाइबर लाइनको विस्तारसँगै पुराना र प्रयोगमा नरहेका अनावश्यक तार हटाउनका लागि तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “वालिङस्थित सबै कम्पनीले यसरी नै पुराना र प्रयोगमा नरहेका आ–आफ्ना तार हटाइदिने हो भने व्यवस्थापनमा सहज हुने देख्छु ।”सेवा प्रदायक कम्पनी बढेसँगै पछिल्लो समय बजार क्षेत्रमा तार अव्यवस्थित देखिएका छन् । अनावश्यक र प्रयोगमा नरहेका तार हटाएर केही समयका लागि समाधान भए पनि त्यो दीर्घकालीन समाधान नहुने भएकाले दीर्घकालीन उपायको खोजीमा लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology