• Saturday 25th of July 2026

जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र


  • गोकर्णेश्वर अनलाइन

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ ।

मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । “केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो”, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भन्नुभयो, “तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभाष भइरहेको छ ।” सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढकोे उहाँको भनाइ थियो ।

सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताउनुभयो । “वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको”, उहाँले बताउनुभयो ।

“सडक साँघुरो र जीर्ण हँुदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो, तर अहिले १० मिनेट पनि लाग्दैन”, उहाँले भन्नुभयो, “पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे, तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ ।” यसबाट जनकपुरधामको सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवद्र्धनमासमेत ठूलो फाइदा पुगेको उहाँको अनुभव छ ।

केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन् ।

यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८÷७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्र र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ । उपमहानगर योजना शाखाका अनुसार आव २०७८÷७९ मा आठ दशमलव ८१ प्रतिशत सडकमा कालोपत्र गरिएको छ ।

यस्तै ढल निकासका लागि सो आवमा तीन दशमलव ९२ प्रतिशत पक्की नाला निर्माण गरिएको र दुई दशमलव १९ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा मर्मत गरिएको योजना शाखाका इञ्जीनियर राकेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उपमहानगरले आव २०७८÷७९ मा स्वास्थ्यचौकी र विद्यालय गरी १८ वटा नयाँ भवन निर्माण गरिएको इञ्जीनियर यादवले बताउनुभयो । नगर क्षेत्रका १० वटा सामुदायिक भवनको मर्मतसम्भार गरी जीर्णोद्वार गरिएको उपमहानगरपालिकाले जनाएको छ । जनतालाई स्वच्छ, शुद्ध खानेपानी पु¥याउने उद्देश्यले सो आवमा नगर क्षेत्रका विभिन्न स्थानमा ४९ वटा चापाकल जडान गरिएको उहाँले बताउनुभयो ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय यहाँ भएको विकासले जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण नगर क्षेत्रमा परिवर्तनको सङ्केत देखिन थालेको उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

‘‘आफू निर्वाचित भएदेखि सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर नगरको विकासमा जुटेको छु”, नगरप्रमुख साहले भन्नुभयो, “सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएका छौँ, यसमा कर्मचारीको पनि राम्रै साथ पाएका छौँ”, उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology