• Saturday 25th of July 2026

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन


  • गोकर्णेश्वर अनलाइन

व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।

बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताउनुभयो । “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उहाँले भन्नुभयो, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।”

उहाँका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।

सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाउनुभयो । “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ४० हजार जति प¥यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उहाँले भन्नुभयो, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।”

कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ ।

मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताउनुभयो । “च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन”, उहाँले भन्नुभयो, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।”

बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । “बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भन्नुभयो, “तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।” उहाँका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ ।

सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आउनुभएका केसीले दशैँमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताउनुभयो । अहिले च्याङ्ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उहाँको भनाइ छ । हुनेखानेले महँगै परे पनि दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन् ।

कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन ।

पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्ग्रामा रु एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दशैँ नै कुनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology