• Saturday 25th of July 2026

सुदूरपश्चिममा छैनन् सुपथ मूल्य पसल


  • गोकर्णेश्वर अनलाइन

दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् ।

सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन ।

साल्ट्र ट्रेडिङ कर्पाेरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताउनुभयो । “सुदूरपश्चिममा कैलालीमा मात्रै पसल सञ्चालनमा छ त्यहाँ पनि बिक्री वितरण न्यून छ”, उहाँले भन्नुभयो, “हामीसँग नुनबाहेक अन्य चिनी तेल अभाव भएका कारण सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेन ।”

सुपथ मूल्य पसल सञ्चालनका लागि यस वर्ष देशभरिनै चिनी अभाव रहेको उहाँले बताउनुभयो । “सरकारले नुनमा रु दुई मात्रै छुट दिएको छ रु दुईको लागि मात्रै सुपथ मूल्य पसलमा ग्राहक आएनन”, उहाँले भन्नुभयो, “धनगढीमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री शून्य छ ।” उहाँले सुदूरपश्चिममा कैलालीबाहेक अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेको बताउनुभयो ।

विगतका वर्षमा दसैँँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर साल्ट्र ट्रेडिङले सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology