• Saturday 25th of July 2026

सहजरूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रम देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराउनुभयो ।

विश्वभर छरिएर रहेका नेपालीको हक, हित र अधिकारको संरक्षण र सम्बद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीहरूको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने कुरामा विश्वास व्यक्त गर्दछु । गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका निभाउँदै आएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्त रूपमा अघि बढाउनेछ भन्ने विश्वास लिएको छु ।”

विश्वभर छरिएर रहेका नेपालीहरूले विदेशमा नेपालको पहिचान र गरिमा बढाउनुका साथै विभिन्न पेसा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास निर्माणमासमेत योगदान पु-याएका छन् । उहँले विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको समृद्धिमा सहभागी हुन संस्थामा आवद्ध सबै गैर आवासीय नेपालीलाई अपिल गर्नुभयो । सङ्घले २०७२ सालको भूकम्पको बेलामा भूकम्प प्रभावितलाई उद्धार गरी राहत प्रदान गर्नेदेखि भूकम्पबाट घरबास गुमाएकाका लागि आवास गृह निर्माण गर्न समेत योगदान पु¥याएको छ । साथै, सङ्घले कोभिड–१९ को महामारीको बेला गरेको मानवीय सहयोग प्रसंशनीय छ ।

प्रधानमन्त्री देउवाले संसारभरि छरिएर रहनुभएका हरेक नेपालीहरू नेपालका गैरआवासीय दूतहरू भएको बताउँदै विदेशमा नेपालको पहिचान दिलाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । “गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्राथमिकता दिनसके यसबाट स्वदेशी उत्पादनको निकासी प्रवद्र्धन गर्न सहयोग पुग्ने हुन्छ । यसबाट नेपाली श्रम, सीप र कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगधन्दाको संरक्षणमा समेत टेवा पुग्छ ।

गैर आवासीय नेपालीले आफूले विदेशमा आर्जन गरेको आयलाई नेपालमा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावाससँग समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजी र प्रविधिलाई नेपालमा भित्र्याउनसमेत अग्रसरता लिन आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सङ्घको अनुरोध बमोजिम यस आर्थिक वर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम् सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरेको जानकारी गराउनुभयो ।

त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ । यसैगरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उहाँले बताउनुभयो । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर–आवासीय नेपालीलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा लिइएको छ ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा नागरिकतासम्बन्धी ऐनमा संशोधन गरेर समाधान गरिने बताउनुभयो ।

उहाँले संसारभर फैलिएर रहेका प्रवासी नेपालीलाई आफूसँग रहेको रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा लगाउन आह्वान गदैै नेपाललाई समृद्ध र समुन्नत मुलुक बनाउने अभियानमा आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology