• Saturday 25th of July 2026

जनकपुरधाम महेत्सवमा सर्वसाधारणको घुइँचो


  • गोकर्णेश्वर अनलाइन

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारण घुइँचो बढ्दै गएको छ ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण सुसुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिया इभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हाताभित्र सुरु भएको महोत्सवमा राखिएका प्रदर्शनी कक्षमा सर्वसाधारणको घुइँचो बढ्दै गएको हो ।

यही असोज २३ गतेदेखि सुरु भएको महोत्सव आगामी असोज २९ गते शनिबारसम्म चल्ने छ । महोत्सवमा राखिएको नेपाली उत्पादनका साथै बङ्गलादेश, पाकिस्तान, भारत तथा चीनका विभिन्न सामानहरूप्रति दर्शकहरूको आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिनुभयो ।

“नेपालीसँगै विदेशी कपडा र सामानप्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्मको हाराहारीमा अवलोकनकर्ता आउने गरेका छन् ।” आउनेमध्ये अधिकांशको आकर्षण कपडा र साडीहरूमै रहेको उहाँको भनाइ छ ।

अवलोकनकर्ताको चापलाई दृष्टिगत गरेर महोत्सवमा ३२ वटा बिक्रीकक्ष राखिएको संयोजक महतोले बताउनुभयो । महोत्सवमा राखिएकोमध्ये धेरैजसो अवलोकनकर्ताको मुख्य आकर्षण बङ्गलादेशी कपडा तथा साडीहरूप्रति रहने गरेकोे आयोजकले जनाएको छ ।

रु दुई हजारदेखि २५ हजारसम्मको बङ्गलादेशी साडी महोत्सवमा राखिएको र यसका साथै पाकिस्तानी छालाबाट बनेका सामान पनि महोत्सवमा आउनेहरूले मन पराइरहेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको भनाइ छ ।

महोत्सवमा महिला तथा पुरुषका लागि विभिन्न प्रकारका कपडा, जुत्ता, छालाका सामान तथा अन्य प्रकारको दैनिक प्रयोगका सामानको बिक्रीकक्ष राखिएको जनाएको छ । बाहिर बजारमा पाउनेभन्दा महोत्सव सस्तो तथा गुणस्तरीय सामान पाउने भएकाले महोत्सवमा सर्वसाधारणको भीड बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology