• Saturday 25th of July 2026

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी, २८ असोज (रासस) : “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।”

रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन”, उहाँले भन्नुभयो ।

सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आउनुभयो । तर बैंक स्टेटमेण्टमा उहाँको खातामा पैसा छैन ।

गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उहाँ बैंकको भैरहवा शाखामा पैसा निकाल्न जानुभयो, उहाँको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाउनुभयो । यो अवधिमा उहाँले सो बैंकमा रु चार लाख जम्मा गरिसकेको बताउनुहुन्छ । अहिले उहाँ बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहनुभएको छ ।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ«े बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गर्नुभयो । उहाँको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उहाँले बैंकमा निवेदन दिन जानुभयो तर बैंकले उहाँको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उहाँको गुनासो छ ।

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गर्नुभएको भौचर छ । तर, उहाँहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।

सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उहाँहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उहाँहरूको माग छ ।

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राख्नुुभएको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्नुहुन्थ्यो ।

निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५का वडाध्यक्ष श्रवण यादवले भन्नुभयो, “बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारवाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।” वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशंकित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताउनुभयो ।

बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।” सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उहाँको भनाइ छ ।

त्यसैगरि बैंकका एजेन्ट निरञ्जन पाठकले भन्नुभयो, “यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।” एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उहाँले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताउनुभयो । सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology