• Saturday 25th of July 2026

स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र–०१–०२–०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको नेपाली नोट रु २० लाख बरामद भएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology