• Saturday 25th of July 2026

लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो


  • गोकर्णेश्वर अनलाइन

मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ ।

मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ । वैदिकालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठक बताउनुहुन्छ ।

केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने जनविश्वास छ । आज दिनभर चतुर्दशी तिथी रहे पनि साँझ सूर्यास्तअघि औँशी तिथी सुरु हुने भएपछि आजै लक्ष्मीपूजा गरिन लागिएको हो । व्यापारिक प्रतिष्ठानले भने लक्ष्मीपूजाका अवसरमा केराको बोट खरिदका लागि अग्रिम बुकिङ गर्दै आएका छन् ।

जिल्लाको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले यसपटक रु २० हजारको थाम बिक्री भएको बताउनुभयो । जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पु-याएका छन् ।

केराका बोट बिक्रीबाट राम्रो आम्दानी भएपछि तिहार मनाउन सहज भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीकी किसान त्रिपुला ठाकुरले बताउनुभयो ।

बजारमा एकजोडा केराका बोट रु चार सयसम्म बिक्री भइरहेको छ । पर्व सुरु हुनुअघि नै करिब १० कट्ठामा रोपिएका केराका बोटको नयाँ कोथा बिक्री गरी रु ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोेले बताउनुभयो ।

“केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नै पर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्, घरी राम्रो लाग्दैन”, गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले भन्नुभयो, “छाँट्नु पर्ने कोथालाई हामी तिहार पर्खन्छौँ ।”

तिहार र छठ पर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौँ रुपैयाँको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसपालि एक साताअघि नै थामसँगै पर्व विशेषकै लागि घरीकोसमेत खरिद बिक्री सुरु भएकाले कारोबार रकम अझै बढ्ने सङ्घका अध्यक्ष लवराजा सिंहको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology