• Saturday 25th of July 2026

सवारी दुर्घटनामा तीनको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उहाँको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

त्यसैगरी इनरुवा–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र-८ का २७ वर्षीय जीवन राउत गम्भीर घाइते भएकामा उहाँको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौली पञ्चायतका ३५ वर्षीय गुलाब मेहता गम्भीर घाइते भइ उपचारका क्रममा मेहताको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ठक्कर दिने कार र चालक रुपन्देही सैनामैना-४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology