• Saturday 25th of July 2026

महँगी बढ्यो, तराईमा सबैभन्दा बढी


  • गोकर्णेश्वर अनलाइन

चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो । राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महँगी बढेको बैंकले जनाएको छ ।

यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि आठ दशमलव ०५ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मूल्यवृद्धि १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ । सेवा समूहअन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology