• Saturday 25th of July 2026

बागलुङका मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी


  • गोकर्णेश्वर अनलाइन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा कर्मचारी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् ।

सदरमुकामदेखि टाढाका ग्रामीण क्षेत्रमा रहेका मतदान केन्द्रमा कर्मचारी आजदेखि निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गर्न थालेका हुन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले मतपत्रसहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरी आ–आफ्नो मतदान केन्द्रमा पठाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले बताउनुभयो ।

जिल्लाका अति दुर्गम क्षेत्रमा खटिएका कर्मचारीसहित सुरक्षाकर्मीलाई कार्य क्षेत्रतर्फ पठाउने कार्य जारी रहेको भन्दै आज साँझसम्म अधिकांश मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिसक्ने रिजालले बताउनुभयो ।

“जिल्लाका दुर्गम गाउँमा पनि मतदान केन्द्र छन्, त्यहाँ आजदेखि नै कमर्चारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर गइसक्नुभयोे, आज सबै मतदान केन्द्रमा कर्मचारी पुग्ने गरी खटनपटन भइसक्यो, साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीसाथी पुग्नुहुन्छ”, उहाँले भन्नुभयो ।

बजार क्षेत्रका मतदान केन्द्रमा खटिनी भएका मतदान अधिकृत र कर्मचारी साथीले पनि सोही अनुसारको व्यवस्थापन गरी राखेको उहाँले बताउनुभयो ।

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाइ, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् ।

दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९२ हजार दुई सय २७ मतदाता छन् । जसमध्ये महिला महिला ९८ हजार छ सय ४३ र पुरुष ९३ हजार पाँच सय ८४ जना छन् ।

सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नं १ मा छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नं १ मा ९६ हजार छ सय ६६ र क्षेत्र नं २ मा ९५ हजार पाँच सय ६१ जना मतदाता छन् ।

बागलुङ क्षेत्र नं १ प्रदेशसभा १ मा ५० हजार पाँच सय ८० जना र प्रदेशसभा २ मा ४६ हजार ८६ जना मतदाता रहेका छन् । साथै, क्षेत्र नम्बर २ प्रदेशसभा १ मा ५४ हजार तीन सय ३४ र प्रदेशसभा २ मा ४१ हजार दुई सय २७ मतदाता छन् ।

बागलुङ क्षेत्र नम्बर १ मा मतदानस्थल ४८ र मतदान केन्द्र एक सय १५ छन् भने क्षेत्र नं २ मा मतदानस्थल ५८ र मतदान केन्द्र एक सय १६ छन् ।

निर्वाचनका लागि जिल्लाभर दुई हजार कर्मचारी, एक हजार एक सय म्यादी प्रहरी, सात सय नेपाल प्रहरी र सात सय नेपाली सेना तथा सशस्त्र प्रहरी खटिएका छन् ।

जिल्लाका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ ।

विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology