• Saturday 25th of July 2026

इयूबाट बाहिरिएको दुई वर्षपछि बेलायतले ‘बहिर्गमन’को पीडा महशुस गर्दै


  • गोकर्णेश्वर अनलाइन

युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् ।

“यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य इङ्ग्ल्याण्डस्थित रसायन कम्पनी रबिन्सन ब्रदर्सका प्रमुख कार्यकारी एड्रियन हानराहनले भन्नुभयो ।

समस्या लन्डन र ब्रसेल्सबीच ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौताद्वारा धेरै हदसम्म हटाइएको छ । सीमा शुल्क समस्या नभएको तर नयाँ नियामक कागजी कार्यको बोझ समस्याका रूपमा देखिएको हो ।

“ईयूसँग कारोबार गर्न वा ईयूबाट सामानहरू प्राप्त गर्ने बदलिँदो कागजी प्रक्रियाको समस्याको समाधान गर्न हामीले हाम्रो प्रशासनिक खर्चमा सम्भवतः २५ प्रतिशत थप गरेका छौँ,” हानराहनले एएफपीसँग भन्नुभयो ।

खाद्य, इलेक्ट्रोनिक्स, फार्मास्युटिकल र अन्य फर्महरूको विभिन्न क्षेत्रहरूले प्रयोग गर्ने रसायनहरू उत्पादन गर्ने यस कम्पनीमा २६५ जनाले रोजगारी पाएका छन् ।

रबिन्सन ब्रदर्सले आफ्नो उत्पादनको लगभग ७० प्रतिशत निर्यात गर्दछ, जसमध्ये आधाभन्दा बढी ईयूमा जान्छ ।

बेलायती चेम्बर्स अफ कमर्शले ब्रेक्जिटको परिणामसँग जुधिरहेको कम्पनी एक्लो नभएको र बेलायतका ५६ प्रतिशत व्यवसायले नयाँ व्यापारिक नियमसँग घुलमिल हुन कठिनाइको सामना गर्नुपरेको जनाएको छ ।

बीसीसीका महानिर्देशक शेवौन हाभिल्याण्डले भन्नुभयो, “व्यवसायीहरूले पर्खालमा टाउको ठोकेको महसुस गरिरहेका छन् किनभने उनीहरूलाई मद्दत गर्न केही गरिएको छैन ।”

हाभिल्याण्डले भन्नुभयो, “वर्तमान समस्याहरू जति लामो समयसम्म अनियन्त्रित हुन्छन्, त्यति नै धेरै ईयू व्यापारीहरू अन्यत्र जान्छन्, र अधिक क्षति हुन्छ ।”

प्रधानमन्त्री ऋषि सुनकको सरकारले उच्च मुद्रास्फीतिका कारण बेलायती अर्थतन्त्र मन्दीमा प्रवेश गरेको विश्वास व्यक्त गरेको छ ।

युक्रेनमा रूसले गरेको आक्रमणले ऊर्जाको मूल्यमा वृद्धि गरेको दावी गरिएको छ तर विश्लेषकहरुले ब्रेक्जिटले पनि लागत बढाएको दाबी गरेका छन् ।

‘लण्डन स्कुल अफ इकोनोमिक्स’का अनुसन्धाता निखिल दत्ताले एएफपीसँग भन्नुभयो, “सन् २०१६ को ब्रेक्जिटपछि स्टर्लिंगको अवमूल्यनले उच्च मुद्रास्फीति निम्त्याएको गतिलो प्रमाण छ ।”

उहाँले अस्ट्रेलियासँग भएको व्यापार सम्झौताजस्ता नयाँ व्यापार सम्झौता ‘सानो’ भएको बताउनुभयो ।

बैंक अफ इङ्ल्यान्डको मौद्रिक नीति समितिका सदस्य स्वाति धिंगराले गत महिना सांसदहरूसँग भन्नुभएको थियो, ‘ब्रेक्जिटका कारण बेलायतको व्यापारमा अन्य विश्वको तुलनामा निकै ठूलो गिरावट आएको छ ।

किङ्स कलेज लण्डनका अर्थशास्त्री जोनाथन पोर्टेसका अनुसार ब्रेक्जिटले बेलायतको व्यापार १० देखि १५ प्रतिशतले घटाएको छ भन्नेमा एकमत छ ।

सरकारको आफ्नै आर्थिक पूर्वानुमान निकाय ओबीआरले ब्रेक्जिटले देशको दीर्घकालीन उत्पादनमा करिब चार प्रतिशतले कमी ल्याउने अनुमान गरेको छ ।

स्वास्थ्य, आतिथ्य र कृषिजस्ता क्षेत्रहरूमा ईयू कामदारहरू गुमाउनु जटिल विषय हो, यद्यपि स्वदेश फर्कनेहरूमध्ये केहीलाई गैर–ईयू देशहरूबाट कर्मचारीहरूले प्रतिस्थापन गरेका छन् ।

ब्रेक्जिटको पक्षमा मतदान गर्ने केही उच्च पदस्थ अधिकारीहरूले सरकारलाई अध्यागमनसम्बन्धी नयाँ र कडा नियमहरू खुकुलो बनाउन आग्रह गरिरहेका छन् ।

“आप्रवासनको सन्दर्भमा, यो निश्चित रूपमा मैले चाहेको ब्रेक्जिट होइन,” कपडा कम्पनी नेक्स्टका प्रमुख सिमोन वोल्फसनले गत महिना बीबीसीसँग भन्नुभयो ।

मदिरा व्यवसायी समूहका जेडी वेदरस्पूनका प्रमुख टिम मार्टिनको पनि धारणा वोल्फसनसँग मिल्दोजुल्दो छ ।

हनराहनका लागि ब्रेक्जिटको नतिजाले उहाँको कम्पनी बाँच्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाएको छ । उहाँले भन्नुभयो, “यदि यो जारी रह्यो भने, हामीसँग व्यवसायमा रहनको लागि हाम्रो प्रस्तावलाई संकुचित गर्नु बाहेक अर्को विकल्प छैन ।

“हामीसँग धेरै ठूला दुई वा तीन जर्मन ग्राहकहरू छन् जसले हामीलाई भनेका छन् कि उनीहरू अब हामीकहाँ आउने छैनन् किनभने उनीहरूका लागि बेलायतमा कसैसँग काम गर्न धेरै जटिल छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology