• Saturday 25th of July 2026

आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर


  • गोकर्णेश्वर अनलाइन

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी रु तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका १ र २, मेरिङदेन गाउँपालिका २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने बासिन्दाका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार पाँच सय कित्ता शेयर निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

त्यस्तै सर्वसाधारणमा निष्काशन हुने रु ४९ करोड ९८ लाख ७५ हजार बराबरका ४९ लाख ९८ हजार सात सय ५० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् चार लाख ९९ हजार आठ सय ७५ कित्ता साधारण शेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने भएको हो ।

लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेभित्र आवेदन सक्नेछन् ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङलिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्ये तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology