• Wednesday 29th of July 2026

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता


  • गोकर्णेश्वर अनलाइन

सर्लाही, १२ असोज (रासस) : जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको अभावमा पनि नागरिकता बनाउन आउनेले सास्ती बेहोर्नु पर्ने बाध्यता हटाउँदै एकै दिनमा नागरिकता लिएर फर्किन पाउने व्यवस्था गर्नुभएकाले नागरिकता बनाउनेहरुको सङ्ख्या वृद्धि भएको हो।

कार्यालयमा आउनेहरुले विचौलियाको चङ्गुलमा पर्नाका साथै अत्यधिक भीडभाडका कारण नागरिकता तथा राहदानी लिन समस्या भएको गुनासो गरेकाले प्रजिअ महतोले कर्माचारीको अभावमा पनि नागरिकता लिन आउनेलाई एकै दिनमा नागरिकता दिएर पठाउने गरी कार्य सम्पादन गर्नुभएको सहायक प्रजिअ भूमेश्वर पोख्रेलले बताउनुभयो ।

प्रजिअ महतोले कोरोना महामारीका कारण जारी निषेधाज्ञाले लामो समयसम्म कार्यालयको काम ठप्प हुँदा अहिले सेवा लिनेको भीड एक्कासि बढेको जानकारी दिनुभयो । एसइईको परीक्षाफल आइसकेको र त्यसपछि उच्च शिक्षा हासिल गर्न नागरिकताको आवश्यक पर्ने भएकाले पनि भीड बढेको हो । भीडलाई कम गर्न प्रक्रिया पुगेर आएको कागजात दर्ता भए एकै दिनमा नागरिकता लिएर जान पाउने व्यवस्था गरिएको उहाँको भनाइ थियोे ।

नागरिकताका साथै कार्यालयबाट प्रदान गरिने अन्य सेवाका लागि सेवाग्राहीहरु आउने गरेकाले पनि भीड बढेको प्रजिअ महतोले जानकारी गराउनुभयो । जिल्लामा अहिले राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ । उक्त परिचयपत्रका लागि नागरिकता अनिवार्य चाहिने र नागरिकतामा पनि बुझिने गरी स्पष्ट रुपमा विवरण उल्लेख भएको हुनुपर्ने भएकाले पुराना नागरिकता हटाएर प्रतिलिपि लिन पनि नागरिकहरु आउने गरेका कार्यालयले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले यतिबेला चलाइरहेको मतदाता परिचयपत्र अभियानमा मतदाता परिचयपत्रका लागि नागरिकताको आवश्यकता पर्नाका साथै दुबै काम एकैसाथ चलिरहेकाले पनि नागरिकताको परिचयपत्र लिन आउनेहरुको भीड बढेको प्रजिअ महतोले स्पष्ट पार्नुभयो । सेवाग्राहीको चाप कम गर्न कार्यालयको समयबाहेक अतिरिक्त समयमा पनि काम गरिरहेको र आफूहरु सेवाग्राहीलाई नागरिकता दिएरै पठाउने प्रयासमा लागेको उहाँको भनाइ थियो।

कार्यालयले आर्थिक वर्ष २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ मा २७ हजार ४९२ जनालाई नागरिकता उपलब्ध गराएकामा २०७६÷७७ मा आठ हजार ८०८ नयाँ र ५५२ प्रतिलिपि २०७७÷७८ मा १० हजार १० नयाँ र एक हजार ८८३ प्रतिलिपि उपलब्ध गराएको थियो । आव २०७८÷७९ को यो दुई महिनामा ९साउनमा एक हजार ३८५ नयाँ र ७७५ प्रतिलिपि तथा भदौमा तीन हजार १०३ नयाँ र ९९४ प्रतिलिपि गरी० कूल छ हजार २३९ जनालाई नागरिकता उपलब्ध गराइएकोे प्रजिअ महतोले जानकारी दिनुभयो । अघिल्ला तीन वर्षको तुलनामा २०७८÷७९ को साउन र भदौमा धेरै नागरिकता वितरण गरिएको छ । कार्यालय परिसरमा आइसकेका सेवाग्राहीलाई खाली हात नफर्काउने प्रयासमा आफूहरु लागिपरेको र सो अनुसार काम पनि गरिरहेको प्रजिअ महतोको भनाइ थियो ।
यसअघि नागरिकता लिनका लागि १० दिनसम्म धाउनुपर्ने अवस्था थियो भने कुपन प्रणालीबाट नागरिकता वितरण गरिँदा दुई महिनामा पनि नागरिकता नपाएको नागरिकको गुनासो बढेकाले अहिले कुपन प्रणाली हटाइएको र आवश्यक प्रक्रिया पु¥याएर आउनेले एकै दिनमा नागरिकता लिएर फर्किन पाउँदा सेवाग्राही खशी भएका छन् । प्रतिलिपिका लागि आवेदन दिएका केही सेवाग्राहीको अभिलेख नभेटिएकाले खोजी जारी रहेको र यसलाई छिट्टै व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

सेवा लिन आउँदा कुनै किसिमको असन्तुष्टि, गुनासो, रकम लेनदेन र विचौलियको हस्तक्षेप भए सिधै आफूसँग सम्पर्क गरेर जानकारी गराउन प्रजिअ महतोले सेवाग्राहीसँग आग्रह गर्दै त्यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology