• Wednesday 29th of July 2026

सुरक्षा योजना लागू, चार सय प्रहरी परिचालन


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो ।

दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने सम्भावना, बैंक तथा वित्तीय संस्थाहरु उपर हुनसक्ने सम्भावित लुटपाट, मेलापर्वहरुमा हुनसक्ने सम्भावित झैझगडा तथा असुरक्षा, सीमा नाकामा हुनसक्ने ठगी तथा अभद्र व्यवहार र विशिष्ट व्यक्तिहरुको भ्रमणका क्रममा हुनसक्ने सम्भावित जोखिम लगायतका गतिविधिहरुलाई नियन्त्रण गरी जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।

सुरक्षा योजनाअन्तर्गत भारतसँगको सीमा नाका र राजमार्गमा गरी जिल्लाका विभिन्न नौ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझा जानकारी दिनुभयो । सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, झुलाघाट, गोठलापानी, पाटन, खोडपे र ढोल्यामोडमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रुको सजिलोका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएका हुन् । जिल्लाभरि एक सय १७ स्थानमा ड्युटी राखिएको र नागरिकको सुरक्षाका लागि तीन सय ८८ प्रहरी परिचालन गरिएका जनाइएको छ ।

यस्तै जिल्ला कमान्ड पोष्ट एक, रिजर्भ दुई, क्युआरटी परिचालन १०, ट्राफिकसहितको संयुक्त चेकिङ चार, सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण सात, झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण २४, मोबाइल गस्ती दुई, पैदल गस्ती १७, पिकेट १६, राजमार्गमा स्कर्टिङ दुई, यात्रु सहायता कक्ष नौ, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तीन, बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा चार, बजार अनुगमन तीन, तत्काल परिचालन हुने (आकस्मिक सभा जुलुस, धर्ना लगायतको कार्यक्रम) चार, नियमित चेक प्वाइन्ट डिउटी (मापसे चेकिङसहित) पाँच, विशेष चेकिङ (लामो दूरीको सवारी चेकिङ) चार र दैनिक जम्मा ड्युटी परिचालन सङ्ख्या ११७ वटा टोली परिचालन गरिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology