• Monday 27th of July 2026

नेप्सेमा सुधार, कारोबार रकम बढेन


  • गोकर्णेश्वर अनलाइन

लगातार ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४१ दशमलव ८४ अङ्कले उकालो लागेर दुई हजार ६१२.६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ०४ विन्दुले बढेर ४९२ दशमलव ०३ मा पुगेको छ ।

नेप्से सूचक एक प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ ले अङ्कले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २६५ दशमलव ६८, उत्पादन १०७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १३६ दशमलव ४, जीवन बीमा ३०७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १३ करोड ६६ लाख ५० हजार बराबरको कारोबार भयो । यस्तै मेरोमाइक्रोफाइनान्स लघुवित्त रु ११ करोड ८६ लाख ११ हजार ६२९, हिमलायन डिस्टिलर रु सात करोड ३४ लाख नौ हजार ९८३, सिटिजन्स बैंक रु छ करोड ७२ लाख ३९ हजार ३४८ र रिडी हाइड्रोपावर कम्पनी रु छ करोड ५० लाख ८१ हजार ७०७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा

कारोबारका आधारमा आज विभिन्न सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतकोको नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नौ दशमलव ८४ प्रतिशतले बढेका छन् ।

नेप्सेमा आजको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै आजको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स तीन दशमलव ३२ प्रतिशत, माउण्टेन इनर्जी तीन दशमलव ३ प्रतिशत, साल्ट टे«डिङ दुई दशमलव ६२ प्रतिशत र रिडी हाइड्रोपावर दुई दशमलव १० प्रतिशतले घटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology