• Monday 27th of July 2026

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम


  • गोकर्णेश्वर अनलाइन

२४ असोज (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । अघिल्लो दिन १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३० हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण २०८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाको कारण मृत्यु हुने चार लाख ५० हजार ५८९ जना पुगेको छ ।भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या २३ हजार ६२४ रहेको छ । भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ७१ हजार ९१५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । भारतका हिजो एकै दिनमा ६६ लाख ८५ हजार ४१५ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ९४ करोड भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology