• Tuesday 28th of July 2026

सामूहिक लगानीमा पशुपालन


  • गोकर्णेश्वर अनलाइन

गलकोट, ६ कात्तिक (रासस) : जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिकरूपमा पशुपालन थालिएको छ । सतहत्तर जनाको समूहले प्रतिव्यक्ति रु ५० हजारका दरले रकम सङ्कलन गरी रु ६१ लाख लगानीमा श्रीकृष्ण कालीगण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालन गरेका हुन् ।

कोरोना त्रासकै बीचमा गाउँमा विदेशबाट फर्किएका, अवकाश लिएर बस्नुभएका, बेरोजगार युवा मिलेर सामूहिकरूपमा फार्म खोलेर दूध बिक्री सुरु गरेको श्रीकृष्ण कालीगण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालक समितिका अध्यक्ष दिपेश पौडेलले बताउनुभयो । जैमिनी नगरपालिकाबाट रु १८ लाख अनुदान र ७७ जनाबाट रु ५० हजारका दरले रकम सङ्कलन गरी ५४ रोपनी जग्गामा फार्म सञ्चालन गरेको उहाँले बताउनुभयो ।

गाउँमा भएका युवा विदेश पलायन हुने र बजारबाट दूध र दुग्धजन्य वस्तु किनेर गाउँमा ल्याउनुपर्ने अवस्थालाई ध्यानमा राखेर गाउँमै दूध उत्पादन गरी बिक्री गर्ने योजनाका साथ सामूहिक फार्म सञ्चलान गरिएको उहाँको भनाइ छ । “आफ्नै देशमा गरे के हुँदैन ? हामी सबै मिल्यौँ या चाह्याँै भने सम्भव हुनसक्छ, यसका लागि दृढ इच्छाशक्ति र मेहेनत चाहिन्छ”, पौडेलले भन्नुभयो, “यस्तो प्रयासले गाउँमै रोजगारीको समेत सिर्जना हुनेछ, फार्मलाई विस्तारै बढाउँदै लैजाने उद्देश्य रहेको छ ।”

“असारदेखि पूर्णरूपमा सञ्चालनमा आएको फार्ममा अहिले १२ वटा भैँसी र चारवटा गाई रहेको छ”, उहाँले भन्नुभयो, “अहिले जैमिनीका अधिकांश घरमा हाम्रो फार्मबाट दूध जान्छ, दैनिक १२० लिटर दूध बिक्री गरेका छौँ, हामीले आगामी दिनमा जैमिनीवासीलाई दूध पु-याएर बागलुङ बजार र कुश्मा बजारमा समेत दूध बिक्री गर्ने योजना बनाएका छौँ ।” अध्यक्ष पौडेलले दूधबाट बनाउन मिल्ने कुराउनी, दही, घिउ, पनिर पनि अहिले उत्पादन गरेका छौँ भन्दै बाँकी दिनमा थप दुग्धजन्य पदार्थबाट बनाउने परिकार तयार गर्ने र बिक्री गर्ने योजनामा रहेको बताउनुभयो । “कोरोना सङ्क्रमण जोखिमका कारण हामीले चाहे जति गाईभैँसी फार्ममा पाल्न नसकेको अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।

उन्नत जातका भैंसी र गाई भारतबाट ल्याउने भनिएता पनि कोरोनाले गर्दा महङ्गो पैसा हालेर पोखराबाट गाईभैँसी खरिद गरिएको हो । अहिले गाईभन्दा भैँसीको दूधको माग बढी छ । फार्ममा पाँच जनालाई रोजगार दिएको श्रीकृष्ण कालीगण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालक समितिका सदस्य कृष्णबहादुर हमालले जानकारी दिनुभयो ।

भर्खर मात्र फार्म खुलाएका कारणले फार्ममा अझै धेरै काम बाँकी रहेता पनि आधुनिक गोठ बनाएर गाई, भैँसी राखेको हमालले बताउनुभयो । “बाहिरबाट ल्याएका गाई, भैँसी यहाँ बिरामी हुने र मर्ने गरेका छन्, हामीसँग अहिले सबै गाई, भैंसी असोज कात्तिकमा दूध दिनेछन्, यो सिजनमा गाउँमा सबैको घरघरमा दूध पाउन सकिन्छ”, उहाँले भन्नुभयो, “पुस, माघको समयमा दूधको खडेरी लाग्ने भएकाले अब हामीले सातवटा भैँसी पुस, माघमा दूध दिने गरी पाल्ने योजनामा छौँ, हामीसँग अहिले रु एक लाख ५० हजारसम्म पर्ने भैँसी गोठमा छन् ।”

फार्ममा पालिएका गाई, भैँसीका लागि आफैं घाँस उत्पादन गरिएको छ । दस वर्षको योजना बनाएर फार्म सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । उहाँका अनुसार अझै धेरै काम बाँकी नै छ । “सुरुआती समयमै हाम्रो फार्मको दूधको माग धेरै भएको हामीले महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले हामीले फार्ममै आएर दूध किन्नेलाई एक लिटरको ८० र डेरीलाई बेच्दा एक लिटरको रु ९० मा बिक्री गर्ने गरेका छौँ र सबै खर्च कटाएर प्रति महिना रु एक लाख ५० हजारसम्म आम्दानी गरेका छौँ ।”

आगामी दिनमा फार्मलाई थप व्यवस्थापन गरेर अगाडि बढ्ने योजना रहेको हमालले बताउनुभयो । फार्म स्थापित गरेर गाउँबाट विदश पलायन भएका युवालाई गाउँमै रोजगार र अवसर सिर्जना गर्ने मुख्य लक्ष्य भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology