• Monday 27th of July 2026

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम बढेन


  • गोकर्णेश्वर अनलाइन

लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । नेप्सेका अनुसार कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर रु दुई अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको छ । नेप्सेका अनुसार व्यापार उपसमूहको मात्रै शेयर मूल्य ओरालो लागेको छ । व्यापार ३२.४७ अङ्कले घट्दा बैंकिङ ६.१३, होटेल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६५.१४, वित्त ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा ६७.३१, सामूहिक लगानी कोष ०.१४ र लगानी ०.३४ अङ्कले बढेको छ ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एसिया बैंक नौ करोड ३५ लाख १८ हजार ८३४, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ६४ लाख ६१ हजार ४००, युनाइटेड मोदी हाइड्रोपावर रु आठ करोड २२ लाख ७१ हजार ६३० र नबिल बैंक रु आठ करोड सात लाख १२ हजार ३९७ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार वेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स फाइनान्स ८.९० बरुण हाइड्रोपावर ८.५४ र युनाइटेड मोदीका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।

यस्तै, मेरो माइक्रोफाइनान्स १०, सानिमा बैंक ३.७८, रुरु जलविद्युत् परियोजना २.३७, कर्णली डेभलपमेन्ट बैंक २.२६ र आरबिबी म्युचुअल फन्ड एकका लगानीकर्ताले २.०२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २३ खर्ब १८ अर्ब ४३ करोड १४ लाख ६६ हजार ९८७ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology