• Tuesday 28th of July 2026

माछापालनबाट मनग्य आम्दानी


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुर, २५ कात्तिक (रासस) : शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो ।

दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आउनुभएको छ । उहाँका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरेको छ । विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लाग्नुभएका चौधरीले पोखरी निर्माणमा रु तीन लाख खर्च गर्नुभएको छ । माछाका भुरा र दाना खरिदका लागि रु दुई लाख ५० हजार खर्च लाग्ने गरेको छ । यसवर्षको हालसम्म उहाँले पाँच क्विन्टल माछा रु एक लाख ५० हजारमा बिक्री गर्नुभएको छ । माछाका भुरा भने रु पाँच लाखको बिक्री भइसकेको छ ।

“मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) ल्याएर आउछौं”, चौधरीले भन्नुभयो, “पोखरीमा केही दिन हुर्काएर फिङ्गर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दैआएका छौं ।” चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । “पहिला आठ नौ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालनको कार्य गर्दै आएका थियौं”, उहाँले भन्नुभयो, “घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कदैन्थ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।”

माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उहाँको भनाइ छ । भुरासमेत हुर्काएर बेच्न थालेपछि आम्दानी चाहेजस्तै हँुदै आएको उहाँले बताउनुभयो । पहिला माछापालनका लागि परम्परागत रुपमा बनाइएको एउटै पोखरी बाहेक अन्य जग्गामा अन्नबाली लगाउने गरिएको थियो ।

अन्नबालीबाट वर्षमा मुस्किलले रु ३० हजार मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको चौधरीले बताउनुभयो । व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको उहाँको भनाइ छ । चौधरीले पोखरी बनाइ बाँकी रहेको जग्गामा व्यावसायिक रुपमा आलुखेती गर्दै आउनुभएको छ । कार्डिनल जातको आलुखेती गर्दै आएका चौधरीले प्रतिवर्ष १२० क्विन्टल आलु उत्पादन गर्दै आउनु भएको छ । उत्पादित आलु बिक्री गरेर उहाँले अतिरिक्त आम्दानी हात पार्ने गरेका छन् ।

यसवर्ष बेमौसमी वर्षाका कारण आलु रोप्न पाएका छैनन् । समयमै आलु रोप्न नपाउँदा उत्पादन घटने चिन्ता उहाँलाई छ । माछाका भुरा र आलु बिक्रीको रकमबाट चौधरीले दुई छोरालाई काठमाडौँमा राखेर उच्च शिक्षा पढाउँदै आउनुभएको छ । माछाका भुरा र आलु बिक्रीको रकमले सिँचाइका लागि बोरिङ, खेत जोत्नका लागि ट्र्याक्टरसमेत खरिद गर्नुभएको उहाँले बताउनुभयो । “भविष्यका लागि केही रकम बैंकमा बचत गर्ने कार्यसमेत हुँदै आएको छ” उहाँले भन्नुभयो, “जोखिमबाट जोगिनका लागि जीवन बीमा समेत गराएका छौं । आलुखेती र माछाकोसमेत बीमा गर्ने योजना छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology