• Monday 27th of July 2026

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी


  • गोकर्णेश्वर अनलाइन

१३ मङ्सिर (रासस÷एएफपी) : जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ ।सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

“हामीले चाडै नै विदेशबाट आउनेहरुलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विषेशका लागि मात्रै नभएर विश्वभरीका कुनै पनि देशबाट आउनेहरुलाई रोक लगाउन लागिएको हो,” उहाँले भन्नुभयो। प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिनुभयो । जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरुलाई परीक्षणमा कडाइ गरिएको थियो ।

तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिषा भएकाहरुलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो ।

यस्तो नियम अन्य देशहरुबाट आउनेहरुलाई पनि बढाउदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिनुभयो ।“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्थाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology