• Monday 27th of July 2026

गरिबी निवारण, जलवायु परिवर्तन र बाल मृत्युदर घटाउन बङ्गलादेशको सफलता


  • गोकर्णेश्वर अनलाइन

यहाँस्थित बङ्गलादेशी राजदूतावासमा आज ‘पचासौँ विजय दिवस’ मनाइएको छ ।

आजकै दिन पाकिस्तानी सेनामाथि नौ महिनासम्म सङ्घर्ष गरी विजय प्राप्त गरेर बङ्गलादेश सार्वभौम भएको थियो । यसै वर्ष जातीय नेता राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताब्दी र स्वतन्त्रताको स्वर्ण वर्ष पनि त्यहाँ मनाइँदै छ ।

सो अवसरमा नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्दीन नोमन चौधरीले यहाँस्थित राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डोत्तलन गर्दै बङ्गलादेशको स्वतन्त्रता र सार्वभौमिकताका लागि बङ्गबन्धु रहमानले चौध वर्षसम्म कारागारमा रहनुपरेको र ठूलो सङ्घर्ष गरेको स्मरण गर्नुभयो ।

उहाँले आफ्नो देश स्वतन्त्र भएपछि नेपालले छिट्टै मान्यता दिएकामा बङ्गलादेश नेपालीप्रति सधैँ कृतज्ञ रहेको जनाउँदै दुई देशबीचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना, विदेशमन्त्री डा एके अब्दुल मोमेन र विदेश राज्यमन्त्री मोहम्मद सहारियर आलमले जारी गर्नुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । उहाँहरुको शुभकामना सन्देशमा ‘भिजन २१’, ‘भिजन २०४१’ र ‘बङ्गलादेश डेल्टा प्लान’मार्फत सन् २०३० सम्म राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्दै २०४१ सम्ममा बङ्गलादेशलाई विकसित र समृद्ध बनाइने उल्लेख छ ।

बङ्गलादेशले गरिबी निवारण, जलवायु परिवर्तनका नकारात्मक असर र बाल मृत्युदर घटाउन सफलता पाइरहेको कार्यक्रममा बताइएको छ ।
सो अवसरमा बङ्गलादेशी दूतावासका मिनिष्टर एण्ड डेपुटी चिफ मिसन इसरात जहान, नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नेपाल –बङ्गलादेश चेम्बर अफ कमर्सका एलबी श्रेष्ठलगायतले बङ्गलादेशमा राजनीतिक स्थिरताका साथै शान्ति, सद्भाव, आर्थिक वृद्धि र विकास तीव्र भइरहेकामा खुशी व्यक्त गर्दै दुई देशबीच ऊर्जा क्षेत्रमा सम्झौता भएको र आगामी दिनमा सडक, हवाई यातायात र सम्पर्क सञ्जाल बढ्ने तथा पर्यटन, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा अझ सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूतावासका कर्मचारी, यहाँस्थित बङ्गलादेशी नागरिक र नेपालका विभिन्न समुदायको व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology