• Tuesday 28th of July 2026

कालीकोटमा महिला मतदाताको सङ्ख्या वृद्धि


  • गोकर्णेश्वर अनलाइन

कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो ।

ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनमा जम्मा दुई हजार ५७८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म १५६१ महिला र १०१७ पुरुष गरी दुई हजार ५७८ जनाले नाम दर्ता गराएका हुन् । स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा ३११ महिला १३७ पुरुष, रास्कोट नगरपालिकामा ३१८ महिला ३०० पुरुष, महावैमा १४० महिला ९२ पुरुष, नरहरिनाथमा ३८८ महिला २११ पुरुष, शुभकालिकामा १८४ महिला १५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला ६६ पुरुष, पचालभरनामा २०७ महिला ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएका उहाँले बताउनुभयो ।

ती स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन कार्य जारी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology