• Tuesday 28th of July 2026

नेपाली वस्तुको निर्यातमा वृद्धि


  • गोकर्णेश्वर अनलाइन

देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।

आव २०७७÷७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि पुससम्ममा रु १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै रु ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् रु ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा ३२ अर्ब ३५ करोड ३९ लाख बढी अर्थात् रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या

पर्साको वीरगञ्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्तावेजबाटै कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ ।

वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत काजगात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन् । यी सबै काजगात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हुँदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सबै काजगात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ ।

कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ । कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology