• Monday 27th of July 2026

आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त


  • गोकर्णेश्वर अनलाइन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शुन्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही माघ २१ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म माग बमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु २५ करोड र हालको जारी पूँजी रु १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी रु १० करोड ७८ लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी रु १६ करोड पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology