• Monday 27th of July 2026

मकर मेला स्नानमा बढ्न थाल्यो दर्शनार्थीको घुइँचो


  • गोकर्णेश्वर अनलाइन

बनेपा, २७ माघ (रासस) : सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराउनुभयो । बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको उहाँले बताउनुभयो ।

सोही ठाउँका अर्का मानबहादुर सिलवालले धर्म गरेर केही मिल्छ कि भन्ने मनोकाङ्क्षासाथ मकर स्नान गर्न आएको बताउनुभयो । “ दहमा डुबुल्की मारेर गरेको स्नानले पक्कै पनि केही मिल्नेछ”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणको जोखिम भए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गरेरै स्नान गर्न आएको उहाँको भनाइ छ । उहाँहरुसँगै सोही ठाउँका अन्य १२ जनाले मकर स्नान गरेर फर्कनुभएको छ ।

माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । सो क्षेत्रमा बाह्रवर्षे मकर स्नान अवधिभर दिवङ्गत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ । करिब एक हप्तादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ । कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ ।

पनौती नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पछिल्लो समयमा भक्तजनको सहभागितामा उल्लेख्य वृद्धि हुँदै गएको बताउनुभयो । कोरोना सङ्क्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको बताउँदै उहाँले स्नानका लागि आवश्यक व्यवस्थापनमा आयोजकले देखाएको सक्रियताका कारण पनि दर्शनार्थीले सहज महसुस गरेर स्नान गर्न पाएको बताउनुभयो । “केही दिन अगाडि पानी परेर खोलामा बाढी आएको कारण स्नान कुण्ड धमिलो भएर समस्या देखिए पनि त्यसलाई अहिले पूर्णरूपमा सफा गरेर स्नान गर्न सहज बनाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “बाह्र वर्षमा लाग्ने मकर मेलाको स्नान गर्ने समय केही मात्रै बाँकी रहेकाले त्रिवेणीघाटमा आएर स्नान गरी पुण्य कमाउन हामी सम्पूर्ण भक्तजनमा आग्रह गर्दछौँ ।”

त्यस्तै वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले सुरुको दिनमा भन्दा १५ गतेयता दर्शनार्थीको सहभागिता अत्यधिक बढेसँगै स्वयंसेवक, प्रहरीको मात्रा बढाएको र सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरी स्नानको व्यवस्था मिलाइएको बताउनुभयो ।

मेलामा भक्तजनको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । नेपाल प्रहरी सशस्त्र, नगरपालिकाले स्वयंसेवकहरु पनि ठूलो मात्रामा खटाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मेला भर्न आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी स्नान गर्न र सहभागी दर्शनार्थीहरुलाई आफ्नो सामानको सुरक्षामा ध्यान दिन माइकिङलगायतका काम गरिरहेको बताउनुभयो ।

आयोजकका अनुसार बिदाको दिनमा एक लाख बढी भक्तजन आउने गरेका छन् । मेलाका लागि पनौती जानेको सङ¬्ख्यामा वृद्धि भएसँगै सो बनेपा–पनौती सडकखण्डमा सवारीसाधनको चाप बढ्दै गएको छ । मेला आगामी माघ २९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology