• Monday 27th of July 2026

‘फोहर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ’


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ उपत्यकाको फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ । उहाँले विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्ने र फोहर विसर्जनमा अवरोध हुने गरेको स्मरण गराउनुभयो । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”

बाटो बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।

कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खामा समस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या आएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology