• Monday 27th of July 2026

पुँजीबजार सुधारमा लाग्न अर्थमन्त्री शर्माको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिनुभयो । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिनुभयो ।

उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उहाँले प्रष्ट पार्नुभयो ।

सो अवसरमा अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्ने समेत बताउनुभयो । “जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप-यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाइँहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।”

उहाँले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिनुभयो । “म मन्त्रालयमा आउना साथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ”, उहाँले भन्नुभयो, “त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।”

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डो-याउने विश्वास लिइएको बताउनुभयो । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताउनुभयो ।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्तालाई सुसूचित गर्ने बताउनुभयो । उहाँले साक्षरताकै अभावमा लगानीकर्ता हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताउनुभयो । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उहाँको भनाइ थियो । नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology