• Monday 27th of July 2026

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ : प्रम देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपालको कूल गार्हस्थ्य उत्पादनमा महत्वूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विदेशबाट आयात हुने उपभोग्य वस्तु र सेवाले विदेशी मुद्राको मागलाई अत्यधिकरूपमा बढाएको र यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको जानकारी दिनुभयो । बढेको विदेशी मुद्राको माग र व्यापार घाटालाई काम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले निजी क्षेत्रको प्रवद्र्धन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँको धारणा थियोे ।

कोेभिड–१९ को नकारात्मक प्रभाव खेपिरहेका लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई उत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । उहाँले दिगो विकास र समृद्धि सरकारको मुख्य लक्ष्य रहेको र यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलगायतले साना व्यवसायीप्रति बैंकले गरेको विभेदले उद्यमशीताको विकासमा अड्चन पु-याइरहेको धारणा व्यक्त गर्नुभयो ।

वीरगञ्जमा हुन गइरहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट ४२६ जना र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट २५२ जना प्रतिनिधि सहभागी छन् । फागुन २७ र २८ गतेसम्ममा दुवै सङ्गठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology