• Saturday 25th of July 2026

सरकार गुणस्तरीय शिक्षामा प्रतिबद्ध छ : मन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

सङ्घीयताको मर्मअनुसार नै विद्यालय शिक्षालाई सुधार्न शिक्षक महासङ्घसँग ५१ बुँदे सम्झौता गरिएको जानकारी दिँदै मन्त्री पौडेलले यसलाई गहिरोसँग अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कोभिडका कारण शैक्षिकसत्र परिवर्तन नहुने स्पष्ट पार्दै उहाँले शिक्षा सुधार कार्यक्रमले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय बनाउने विश्वास व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षदेखि एसईई परीक्षा प्रदेशबाटै सञ्चालन हुने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका भौतिक, सहरी विकासमन्त्री कुमार खड्काले देशको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउँदै शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखानामा सीमित हुन नहुने वताउनुभयो । प्रदेश सञ्चार, कानुन तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिँदै आईटी पार्क निर्माणको प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य विद्या भट्टराईले मुलुकको समग्र विकासका लागि विद्यमान शिक्षा प्रणलीलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णवहादुर थापा, पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन एकाइ प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पूर्वअध्यक्ष दानबहादुर बानिया, महेन्द्र मावि भलामका प्रधानाध्यापक बोधराज पौडेल, पत्रकार महासङ्घ गण्डकीका सचिव यदुनाथ बञ्जारालगायतले शिक्षा क्षेत्रको सुधारका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एसईई २०७७ मा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति प्रदान गरिनुका साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गरिदिनु हुन मन्त्रीसमक्ष प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आग्रह गर्नुभयो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्यसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology