• Saturday 25th of July 2026

खुसी हुने पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो ।

उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन ।”

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उहाँले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गर्नुभयो । राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राख्नुभयो । हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्कालाई ‘प्याब्सन गौरव सम्मान’ बाट सम्मानित गरिएको छ । त्यसैगरी वी एन्ड शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ ।

बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ । अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा देशका विभिन्न स्थानबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology