• Monday 27th of July 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ ।

नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको आजको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर रु दुई अर्ब चार करोड ६३ लाख ५२ हजार ५४७ मा खरिद विक्री भएका छन् ।

आज कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहका शेयर मूल्यमा वृद्धि देखियो भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । जसमा व्यापार १२.७७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले बढेका छन् । बैंकिङ ९.१३, होटल तथा पर्यटन १९.८६, विकास बैंक ५२.५८, जलविद्युत् ३६.३९, वित्त ३४.५३, निर्जीवन बीमा ७९.५३, उत्पादन ७६.२१, अन्य २२.२१, लघुवित्त २०.७५, जीवन बीमा १२६.३१ र लगानी ०.८१ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । यो कम्पनीको कूल रु आठ करोड ४१ लाख ९४ हजार ६३९ रकम बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु आठ करोड ४० लाख २३ हजार ३३६, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको रु आठ करोड १७ लाख १९ हजार २२४, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ६० लाख ७६ हजार ९६८ र अपी पावर कम्पनीको रु छ करोड १० लाख ५१ हजार २१२ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको आजको बजारमा इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सनराइज बैंककोे ऋणपत्र ४.०४ एनआइबीएल प्रगति फण्ड ३.११ र नविल बैंकको ऋणपत्र २.९२ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology