• Monday 27th of July 2026

रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस


  • गोकर्णेश्वर अनलाइन

रगत अभावका बेला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।

पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गर्नुभयो ।

यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, सामाजिक कार्यकर्ता रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायतले रक्तदान गर्नुभएको छ ।

विसं २०११ चैत १६ गते पत्रकार महासङ्घको स्थापना भएको हो । महासङ्घको स्थापना दिवसका अवसरमा सहभागी प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नाका साथै सञ्चार क्षेत्रले सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानुन र संरचना निर्माणका लागि महासङ्घले थप पहल र खबरदारी गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology