• Saturday 25th of July 2026

सबैका लागि गुणस्तीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ, त्यसैले शिक्षक नियुक्तिमा भनसुन रोक्नुपर्छ, शिक्षक भर्ना गर्दा क्वालिटीको शिक्षक भर्ना गर्न मन्त्रालयदेखि सबैले ध्यान दिनुपर्छ ।”

विविधतामा एकता आवश्यक पर्ने भएकाले विद्यार्थीलाई कक्षादेखि नै देश भक्ति सिकाउनुपर्नेमा जोड दिँदै उहाँले भोट र सरकारमा मात्रै नभई जनताको दैनिक जीवनयापनमा पनि लोकतन्त्र आउनुपर्ने बताउनुभयो ।

शिक्षाले वास्तवमा जीवन जिउने कला दिन्छ भन्दै उहाँले शिक्षाले जीवनमा वास्तविक सुख प्राप्त गर्ने बाटो खोल्ने भएकाले सिङ्गो नेपाललाई नै समृद्ध नेपाल बनाउने र देशभरका जनतालाई सुखी बनाउने आफ्नो अभियान नरोकिएको बताउनुभयो ।

सूर्यविनायकमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण भइरहेको चर्चा गर्दै ओलीले भन्नुभयो, “यहाँको चिडियाखाना विस्तार कार्य रोकिएको छ, मैले सुरु गरेका विकासका काम विभिन्न कारण देखाउँदै रोक्न काम भइरहेको छ, तर हामी आत्तिएका छैनाँै, किनकि सबैलाई थाहा छ, रातपछि फेरि घाम लाग्छ ।”

एमाले अध्यक्ष ओलीले गठबन्धनको लछाचँुडीले विकास एक वर्ष खेर गएको आरोप लगाउँदै देशभरका सबै पालिका र सदरमुकाममा दुई वर्षभित्र जोड्ने गरी एकै पटक देशभरका २६५ सडक उद्घाटन गरे पनि अहिले यो विकास पनि रोकिएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनप्रतिनिधिको यो पाँच वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग साबित भएको बताउनुभयो । सूर्यविनायकका नगरप्रमुख वासुदेव थापाले यस नगरको विकासमा सबै जनप्रतिनिधि र तीन तहकै सरकारको सहयोगले मुहार फेर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा ८ नं वडाका वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक किरण थापाले २० कोठे दुईवटा भवन निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न पाउनु ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भूकम्प पुनः निर्माण प्राधिकरणको कूल रु छ करोड ४७ लाखको लागतमा सुविधा सम्पन्न, अपाङ्ग मैत्री भवन निर्माण भएको बताउँदै साइन्स ल्याब, कम्प्युटर ल्याबलगायत सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले यस वडामा छ विद्यालय भवन, एक नगर अस्पताल, विभिन्न सडक, पुल, खानेपानी लगायतको विकास भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पाण्डवराज अधिकारीलाई विद्यालयको साँचो हस्तान्तरण गरिएको थियो भने भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology