• Monday 27th of July 2026

संस्थाका हरेक क्रियाकलाप निर्वाचनसँग जोड्नुस् : प्रमुख थपलिया


  • गोकर्णेश्वर अनलाइन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिनुभएको छ ।

सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिसँगको छलफलमा उहाँले सिङ्गो मुलुक नै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, मितव्ययी र भयरहित तुल्याउन केन्द्रित रही अघि बढनुपर्ने आवश्यकता औँल्याउँनुभयो । उहाँले भन्नुभयो, “हाम्रा सबै स्रोत, साधन र जनशक्ति निर्वाचनतर्फ केन्द्रित गरी निर्वाचनका निम्ति उपयुक्त वातावरण तयार गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित निर्वाचन गर्नु हामी सबैको साझा दायित्व हो ।”

निर्वाचन प्रचारप्रसारका सन्दर्भमा कुनै पनि कमीको अनुभूति नहुने गरी उत्साहजनकरूपमा काम गर्ने सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सुझाव दिँदै प्रमुख थपलियाले सञ्चारमाध्यमका प्रत्येक कार्यक्रम र गतिविधिलाई निर्वाचनसँग जोडेर लैजान सल्लाह दिनुभयो ।

सार्वजनिक सञ्चारमाध्यम आफैँ स्वायत्त र स्वतन्त्र रहेकाले आ–आफ्ना स्थानीय तहका संरचनामार्फत निर्वाचनसम्बन्धी समाचार सङ्कलन र प्रसारण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिँदै उहाँले मितव्ययीताका बीच कुशलता र सक्षमता देखाएर काम गर्न सक्नुपर्छ भन्नुभयो ।

एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वीकृत निर्वाचन कार्यतालिका एक दिन पनि प्रभावित नभएको मात्र नभई निर्वाचन सामग्री आउने र मतपत्र छपाइको काम सुरु भइसकेको जानकारी दिनुभयो ।

आयोगले कर्णालीसहित दुई वटा प्रदेशको मतपत्र छपाइका लागि डिजाइन गरेकामा कर्णाली प्रदेशको मतपत्र छपाइ भइसकेको जानकारी दिएको छ । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपालका अध्यक्ष तथा महाप्रबन्धक र प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology