• Monday 27th of July 2026

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशिल’


  • गोकर्णेश्वर अनलाइन

जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ ।

मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिनुभयो ।

“विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरेका छौँ,” उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ, ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।”

प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबँेशी र भेरिगङ्गा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ । यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदैछ ।

निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थल निरीक्षण गरेको छ । प्रजिअ रिजालले भन्नुभयो, “अधिकांश मतगणनास्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा चाँडो जडान गर्न निर्देशन दिएका छौँ ।”

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताउनुभयो । मतदान र मतगणनास्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ छ । सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । जिल्लाका १३८ स्थलमा गरी २९१ मतदान केन्द्र छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालयले एक हजार २०० म्यादी प्रहरी भर्ना गरी तालिम दिन सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology