• Monday 27th of July 2026

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली


  • गोकर्णेश्वर अनलाइन

रुम (म्याग्दी), १ वैशाख (रासस) : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युत्का पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि बिजुली नबलेको बताउनुभयो । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “लघु जलविद्युत्को बिजुलीको भरमा छौँ ।” तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । पाँच सय घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बासबोट, छिस, भट्टखोला, घोर्सीका तीन सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताउनुभयो । “सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्”, उहाँले भन्नुभयो, “पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।”

डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीयवासी ओमकार रोकाले बताउनुभयो । तीनवटै बस्तीका बासिन्दा लघुजलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताउनुभयो । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।”

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जीनियरिङले करिब रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीनवटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।

बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

रातोढुङ्गा सबस्टेशन आयोजनाका इञ्जीनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताउनुभयो । “ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology