• Monday 27th of July 2026

दोर्र्दीखोला जलविद्युत्को आइपिओ खुलाः स्थानीयवासीले आवेदन दिनसक्ने


  • गोकर्णेश्वर अनलाइन

दोर्र्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले आजदेखि खुला गरेको जारी पुँजी रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुने रु १० करोड ५४ लाख २६ हजार ४० मूल्य बराबरको रु १०० अङ्कित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयरमा आयोजनाले प्रभाव पार्ने क्षेत्र लमजुङ जिल्लाको दोर्र्दी गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन ।
स्थानीयवासीले आजदेखि छिटोमा यही वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी जेठ ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्ने छन ।

कम्पनीले हाल दोर्र्दी भएर बहने दोर्दी खोलामा १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको बेँशीसहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्र्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंशीसहर शाखाबाटसमेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बिबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology