• Monday 27th of July 2026

आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द


  • गोकर्णेश्वर अनलाइन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको उहाँले बताउनुभयो ।सो समय अगाडि वा पछाडिमात्र उक्त सडकमा आवतजावत गरिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुखहरु काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् ।मुग्लिङ पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पूर्वी खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्ड रु सात अर्ब ४० करोड ४६ लाखमा सम्पन्न गर्ने ठेक्का संझौता भएको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर चौडा सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology