• Monday 27th of July 2026

दुर्व्यसनमा परेकालाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना औषधि बेच्ने चार जना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौँ तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology