• Monday 27th of July 2026

बढ्न थाल्यो विद्युतीय गाडीको आयात


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, ८ असार (रासस) : पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको एघार महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा ७०० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को एघार महिनाको अवधिमा जम्मा २१३ विद्युतीय आयात भएका थिए ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै युकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८, युकेबाट चार गाडी नेपाल आएका छन् । युकेबाट २००देखि ३०० किलोवाट क्षमताका चार र युकेबाटै ३०० क्षमताभन्दा माथिका दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

गत वैशाखमा न्यून मात्रामा विद्युतीय गाडी भित्र्याइएकामा जेठमा वृद्धि भएको छ । गत वैशाखको तुलनामा जेठमा मात्रै १५३ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । वैशाखमा ७८ मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

पाँच अर्बका गाडी भित्रिए

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा रु पाँच अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा रु पाँच अर्ब पाँच करोड १६ लाख १३ हजार विदेशीएको हो ।

यस्तैगरी उक्त विद्युतीय गाडी आयातबाट सरकारले रु एक अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व सङ्कलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।

मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारी आयात खुला राखेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology