• Monday 27th of July 2026

भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।

उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको कर्तव्य गरी हत्या गरेको भन्दै प्रहरीले तीनैलाई पक्राउ गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको बताउनुभयो ।

कामको सिलसिलामा विसं २०७६ मङ्सिरमा भारत पुगेगी जानुकासँग उनको चिनजान भएको र चिनजानपश्चात नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विसं २०७९ वैशाख ४ गते नेपाल आउने क्रममा नरेशकुमार बाबुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेको बताइएको छ । सोही क्रममा उनी तारेक बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जानुकाको घरमा रहँदा जानुकालाई श्रीमान्कै अगाडि दुव्र्यवहार गरेको भन्दै श्रीमान् श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउँदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा उनको हत्या गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । हत्यापछि नरेशकुमारको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा बाधेर फालेको अवस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नरेशकुमारको हत्याका लागि सुरुमा परियारलाई रु २५ हजार दिएको, उनको हत्यासँगै शव फालेपछि पुन रु एक लाख ७५ हजार दिएको र अर्का एक जना मानिसलाई पनि रु एक लाख दिएको थियो । अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाएको छैन । नरेशकुमारको हत्या गर्न थापा दम्पत्तिले रु पाँच लाख खर्च गर्ने सहमति भएको र सोही सहमतिअनुसार उनीहरूले रु तीन लाख प्रदान गरिसकेको बताइएको छ । बाँकी रु दुई लाखपछि दिने सहमति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology