• Sunday 26th of July 2026

कलामा नेपाली ‘क्यारिकेचर’


  • गोकर्णेश्वर अनलाइन

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उहाँहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राइको जीवनयात्राले धेरै नेपालीको मन जित्यो ।

अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उहाँप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्नुहोला ? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उहाँका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो ।

प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राइको क्यारिकेचर बनाउनुभएको छ भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर बनाउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उहाँ(काठमाडौँ महानगरका प्रमुख शाह र धरान उपमहानगरपालिकाका प्रमुख राई) का क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गर्नुभयो ।

क्यारिकेचरले समाजसँग प्रत्यक्ष सम्बाद गर्छ । त्यसैले समाज रुपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ । प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् । हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो ।

कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्नुहुन्छ, कला समीक्षक रमेशनाथ खनाल । उहाँका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवङ्गत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रुपमा लिइन्छ । नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लबअफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रङ्गत सुन्दरता, भावगत सम्प्रेशण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउनुहुन्छ ।

क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।” यसपटक नाफा र कार्टुनिष्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ ।

विसं २०७४ देखि नै नियमित रुपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोन महामारीका समयमा भने भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्नुहुन्छ । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ ।

अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ । कूल ४१ कलाकारमध्य १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology