• Sunday 26th of July 2026

सहकारीद्वारा रु १५ अर्बभन्दा बढी कृषिमा लगानी


  • गोकर्णेश्वर अनलाइन

जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ ।

सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीले जनाएको छ ।

साथै उनीहरुले साना तथा मझौला उद्योगमा समेत लगानी गरेका छन् । विशेषगरी युवावर्गलाई लक्षित गरी गरिएका लगानीले उत्पादनमूलक क्षेत्रमा राम्रो प्रभाव पारेको अर्थविद् बताउँछन् । जिल्लामा करिब रु १५ अर्बभन्दा धेरै लगानी सहकारीले गरेको देखिन्छ । लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीको आँकडाले देखाउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका वडा नं ५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिनुभयो ।

जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरु लगायतमा सहज रुपमा लगानी गरेको बताउनुभयो । उहाँले बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको जनाउँदै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पु¥याएको आफन्त बचत तथा ऋण सहकारी संस्था धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले जानकारी दिनुभयो । नेपालमा सजिलो तरिकाले ऋृण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको बढ्दो विश्वास रहेको उहाँको भनाइ छ ।

सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायीमूलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो “दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका सहकारीले अर्थतन्त्रलाई माथि उकास्न टेवा दिइरहेको छन् ।” लुम्बिनी प्रदेश सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी अहिले स्थानीय पालिका मतहतमा रहेकाले हुँदा स्थानीय सरकारसंगको सहकार्यमा काम गरिरहेकोे जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology