• Saturday 25th of July 2026

नेप्से परिसूचकको ओरालो यात्रा जारी


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब शून्य आठ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ मा सीमित भएको छ । कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ । सो उपसमूहको मूल्यमा शून्य दशमलव शून्य सात अङ्कले वृद्धि भयो । बैंकिङ तीन दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ११, होटल तथा पर्यटन ५० दशमलव शून्य एक, विकास बैंक ५७ दशमलव ३३, जलविद्युत् ३१ दशमलव ७८, वित्त ४० दशमलव १७, निर्जीवन बीमा ६३ दशमलव ७८, उत्पादन ८२ दशमलव १८, अन्य ३० दशमलव नौ, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी एक दशमलव २४ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाख छ हजार पाँच सय ७३ बराबर कायम भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड २७ लाख ९४ हजार सात सय ३७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड १२ लाख १५ हजार एक सय ९२, नेष्डो समृद्धि लघुवित्त रु पाँच करोड ४६ लाख ९७ हजार पाँच सय ९२, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ६१ लाख ५१ हजार चार सय चार र नबिल बैंक रु चार करोड ५१ लाख १५ हजार तीन सय ५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९८, एनआइसी एशिया सेलेक्ट फण्ड चार दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी तीन दशमलव ८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले कमाएका छन् । युनिलिभर नेपाल आठ दशमलव २३, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ५६, हिमालयन एभरेष्ट इन्स्योरेन्स पाँच दशमलव ९४, समृद्धि फाइनान्स कम्पनी चार दशमलव ९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology